रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को आदर्श जीवन र आचरणका केही झलकहरू

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को आदर्श जीवन र आचरणका केही झलकहरू


कुरआन नै उहाँको आचरण हो- रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले मानव समाजको लागि एउटा अतुलनीय र उच्च स्वभाव प्रस्तुत गर्नुभयो । त्यसैले कुरआनले उहाँको असल व्यवहार र आदर्श जीवनको अनुसरण गर्न हाम्रो लागि अनिवार्य गरेको छ । उहाँको आचरणलाई वर्णन गर्दै उहाँकी श्रीमती आईशा (रजियल्लाहु अन्हा) भन्नु हुन्छ– “कुरआन नै उहाँको आचरण हो ।” । अर्थात उहाँको व्यवहारिक जीवन नै कुरआनको पूर्ण व्याख्या र अनुपम शिक्षा हो ।

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सम्पूर्ण मानवमध्ये आचरणले परिपूर्ण हुनुहुन्थ्यो।


नम्रता-


  • कसैले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई उभिएर मान र सम्मान गरोस्, भन्ने ' पनि उहाँलाई मन्जुर थिएन। उहाँ आफ्ना सहाबी (साथी) हरूलाई उभिएर सम्मान गर्न रोक्नु हुन्थ्यो। त्यसैले उहाँका सहाबी (साथी) हरू उहाँलाई आएको देखेर उहाँको लागि उभिन चाहँदाचाहँदै पनि बसेर नै उहाँलाई सम्मान गर्थे, किनकि उहाँको लागि उभिनु उहाँलाई कदापि मन पर्दैनथ्यो।” (अहमद : १२३४५, बज्जार : ६६३७)
  • अरबको प्रतिष्ठित व्यक्ति हातिमको पुत्र अदी (रजियल्लाहु अन्हु) ले इस्लाम पूर्व रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को वास्तविकता जान्नको लागि उहाँलाई भेट्नुभयो। उहाँको साथमा एउटी महिला र केही नानीहरू बसेका थिए। उहाँले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को नम्रता र आचरण देखेर भन्नु भयो– उहाँ कोही रोम र इरानको राजा होइन, नम्रता सम्पूर्ण इश्दुतहरूको स्वभाव हो।” (अहमद : १९३८१)
  • उहाँ आफ्ना साथीहरूसँग मिलेर बस्नु हुन्थ्यो। उहाँको लागि कुनै विशेष ठाउँ खास गरिएको थिएन। यहाँसम्म अपरिचित व्यक्तिले उहाँलाई चिन्न गाह्रो हुन्थ्यो र सोध्नु पर्थ्यो– “तपाईंहरूमध्ये मुहम्मद को हुनुहुन्छ?” (बुखारी : ६३)
  • अनस (रजियल्लाहु अन्हु) ले भन्नुभएको छ- “मदीनाकी एउटी दासी (बालिका) ले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को हात समातेर इच्छा अनुसार चाहेको ठाउँमा लाने गरेकी थिइन्।” (बुखारी : ५७२४) अर्थात- उहाँ कमजोर र स-साना बाल-बालिकाहरूको इच्छालाई पनि कदर गर्नु हुन्थ्यो। बिना कुनै भेदभाव दासीलाई पनि माया गर्नु हुन्थ्यो। यसमा उहाँको नम्रताको प्रमाण छ। महिला र दासी समाजका सबैभन्दा कमजोर पक्ष हुन् त्यसैले यसको विशेष उदाहरण दिएको छ।
  • रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छ– “जसको हृदयमा कण बराबर घमण्ड हुनेछ ऊ कदापि स्वर्गमा जान सक्दैन।” (मुस्लिम : ९१)


दया-


  • रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छ– “दयावानहरूमाथि अल्लाहले दया गर्नुहुन्छ, पृथ्वीमा रहेकाहरूमाथि दया गर, आकाशमा रहेकाले तिमीहरूमाथि दया गर्नु हुनेछ।” (तिर्मिजी : १९२४, अबु-दाऊद : ४९४९)

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) का दयाका अनेकौं पक्षहरू छन्, केही यस प्रकार रहेका छन्-

  • बाल-बालिकाहरूसँगको माया-
    • एउटा गाउँलेले रसूल (सल्लल्लाहु अलैहि व सल्लम)सित सोध्यो- “के तपाईंहरू आफ्ना बाल-बालिकाहरूलाई म्वाइँ खानुहुन्छ? हामीले त यसरी कहिल्यै पनि माया गर्दैनौं।” रसूल (सल्लल्लाहु अलैहि व सल्लम)ले जवाफ दिनुभयो- “अल्लाहले तिम्रो हृदयबाट माया झिकिदिनुभएको छ कि क्या हो?” (बुखारी: ५६५२, मुस्लिम: २३१७)

      अर्कोले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई आफ्नो नाति हसनलाई म्वाइँ खाँदै गरेको देख्यो र भन्यो- “अल्लाहले मलाई १० वटा सन्तान दिनुभएको छ, तर मैले अहिलेसम्म एउटालाई पनि म्वाइँ खाएको छैन। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले जवाफ दिनुभयो– “जसले अरुलाई माया गर्दैन, ऊलाई पनि कसैले माया गर्दैन।” (मुस्लिम : २३१८)

    • रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले एक दिन आफ्नी नातिनी; उमामा पुत्रि जैनबलाई बोकेर सलाह पढाउनु भयो । सज्दा गर्दा भुइँमा राख्नु हुन्थ्यो र उभिदा बोक्नु हुन्थ्यो ।” (बुखारी : ४९४, मुस्लिम : ५४३)
    • उहाँले सलाह पढाउने क्रममा कुनै बच्चाको रुने कराउने आवाज सुन्नु हुन्थ्यो भने सलाह छिटो-छिटो गरी पूरा गर्नु हुन्थ्यो । अबु-कतादह (रजियल्लाहु अन्हु) ले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को भनाईलाई उध्रित गर्दै भन्नुभएको छ, उहाँले भन्नु भयो– “म यता सलाहलाई अलि लामो गर्ने सोचमा हुन्छु, उता बच्चाको रुने आवाज आउँछ, उसकी आमालाई अप्ठ्यारो नहोस् भनेर म अलि छिटो-छिटो सलाह पूरा गर्छु ।” (बुखारी : ६७५, मुस्लिम : ४७०)
  • महिलाहरूसँगको माया-

    रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले छोरीहरूको राम्रो रेखदेख र भद्र व्यवहार गर्न प्रेरित गर्नुभएको छ, उहाँले भन्नुभएको छ– “जसले आफ्ना छोरीहरूलाई राम्रो तरिकाले हुर्काई, बढाई राम्रो जीवन व्यवस्था मिलाई दिन्छ, उसको लागि ती छोरीहरू नरकका बाधक बन्नेछन् ।” (बुखारी : ५६४९, मुस्लिम : २६२९)

    रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले श्रीमतीको हकहित र मर्मलाई बुझिदिन र उनीहरूमाथि विशेष ध्यान दिन आदेश दिनुभएको छ– “महिलाहरूसित राम्रो व्यवहार गर ।” (बुखारी : १९१०)

    रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले आफ्नो घरपरिवारको साथ गर्नुभएको माया पुरै संसारबासीको लागि एउटा अनुपम उदाहरण हो । उहाँ ऊँटको नजिक बसेर घुँडा थाप्नु हुन्थ्यो र उहाँकी श्रीमती सफिया (रजियल्लाहु अन्हा) उहाँको घुँडामाथि आफ्नो खुट्टा टेकेर ऊँटमाथि चढ्नु हुन्थ्यो ।” (बुखारी : २१२०) जब उहाँकी प्यारी छोरी फातिमा (रजियल्लाहु अन्हा) उहाँलाई भेट्न आउने गर्थिन्, तब उनको हात थामेर चुम्नु हुन्थ्यो र आफू बसेको ठाउँमा बसाउनु हुन्थ्यो ।” (अबु-दाऊद : ५२१७)

  • दीनदुःखीहरूसँगको माया-
    • रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले टुहुरो (यतीम) लाई पालन-पोषण गर्ने प्रेरणा दिनुभएको छ । उहाँले भन्नुभएको छ– “म र टुहुरोलाई पालन-पोषण गर्ने व्यक्ति स्वर्गमा यसरी सँगै रहनेछौं । उहाँले चोर औंला र बीचको औंलालाई फटाएर संकेत गर्नुभयो ।” (बुखारी : ४९९८)
    • रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले विधुवा र दीन-दुःखीहरूको हेरचाह गर्ने व्यक्तिलाई जिहाद (धर्म युद्ध) गर्ने, दिउँसो व्रत बस्ने र राती सलाह पढ्ने व्यक्ति बराबरको स्थान दिनुभएको छ ।” (बुखारी : ५६६१, मुस्लिम : २९८२)
    • दीनदुःखीहरूमाथि दया गर्नु तथा उनीहरूको हक दिनुलाई रोजीमा अभिवृद्धि र शत्रुमाथि विजय प्राप्तिको कारण घोषित गर्दै भन्नुभएको छ– “मेरो लागि दीनदुःखीहरू खोजेर ल्याऊ, वास्तवमा तिमीहरू उनीहरूको कारणले विजयी हुनेछौ र रोजी पाइरहेका छौ ।” (अबु-दाऊद : २५९४)

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले विधुवा र दीन-दु:खीहरूको हेरचाह गर्ने व्यक्तिलाई जिहाद (धर्म युद्ध) गर्ने व्यक्ति बराबरको स्थान दिनुभएको छ।

  • जनावरहरूसितको माया-
    • रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले जनावरहरूसित दया गर्न, तिनीहरूको शक्ति भन्दा बढी भारी नबोकाउन तथा दुःख नदिन आदेश दिनुभएको छ । उहाँले भन्नुभएको छ– “अल्लाहले हरेक कुराहरूमा सदव्यवहार गर्न आदेश दिनुभएको छ । यदि तिमी मृत्युदण्ड दिन्छौ भने त्यसमा सदव्यवहार गर, यदि जनावरहरू जबह गर्छौ भने सदव्यवहार गर र आफ्नो छुरीलाई धारिलो पार, ताकि जनावरलाई बढी पीडा नहोस् ।” (मुस्लिम : १९५५)
    • एकजना सहाबीले कमिलाको बस्ती खरानी भएको देखेर सोध्नु भयो- “कसले यसलाई आगो लगाएर खरानी बनायो ?” उनीहरूले जवाफ दिए– “हामीले नै त्यस्तो गर्यौ” फेरि उहाँले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को भनाईलाई उध्रित गर्दै भन्नु भयो- “हामीले आगोद्वारा कसैलाई यातना दिनु हुँदैन, किनकि यो अल्लाहको लागि मात्र खास हो ।” (अबु-दाऊद : २६७५)

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले एउटा चरालाई आफ्नो बच्चाको वियोगमा यता-उता खोज्दै उदास हेर्नु भयो अनि भन्नुभयो– “कसले यो चराको बच्चालाई खोसेको छ ? उसको बच्चालाई फिर्ता गरिदेऊ।”


न्याय-निसाफ-


  • रसूल (सल्लल्लाहु अलैहि व सल्लम) अत्यन्तै न्यायी हुनुहुन्थ्यो । अल्लाहको आदेश अनुसार आफ्नो- बिरानो हरेकसँग न्याय-निसाफ गर्नु हुन्थ्यो । अल्लाहले भन्नुभएको छ– “हे आस्थावानहरू हो ! निसाफ कायम गर्नेवाला र अल्लाहका लागि साक्षी बक्नेवाला बन, यद्यपि त्यो स्वयम् तिमीहरू, तिम्रा आमा- बाबु वा नातेदारहरूकै विरुद्धमा किन नहोस् ।” (कुरआन : ४/१३५)
  • केही सहाबीहरूले चोरीको अपराधमा समातिएकी एउटी प्रतिष्ठित महिलाको बारेमा रसूल (सल्लल्लाहु अलैहि व सल्लम) सित सिफारिस गर्दै भने, 'उनीमाथि हद (दण्ड) कायम नगर्नुहोस्' यो सुनेर उहाँले जवाफ दिनुभयो- “अल्लाहको कसम जसको हातमा मेरो प्राण छ ! यदि मेरी छोरी फातिमाले चोरी गरेकी भए, म उसको पनि हात काटिदिन्थेँ ।” (बुखारी : ४०५३, मुस्लिम : १६८८ )
  • जुन बेला ब्याज अवैध भयो, उहाँले सर्वप्रथम आफ्नै काका (अब्बास) लाई ब्याजको कारोबारबाट मनाही गर्नुभयो। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भयो– “आजदेखि ब्याजको कारोबार अवैध छ र सर्वप्रथम म अब्बासका सम्पूर्ण अवैध कारोबारलाई रद्द गर्दछु ।” (मुस्लिम : १२१८)
  • रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले विश्वकै समुदायको सभ्यता र उत्थानको मापदण्ड पारित गर्दै यसरी भन्नुभएको छ– “जबसम्म गरीबहरू धनीहरूबाट नडराइकन आफ्नो हक अधिकार असुल्दैन, तबसम्म कुनै पनि राष्ट्रको विकास र उत्थान सम्भव छैन ।” (इब्ने माजा : २४२६)

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) आफ्नो-बिरानो सँग एकैनास न्याय-निसाफ गर्न हुन्थ्यो।


परोपकार र दया-


  • रसूल (सल्लल्लाहु अलैहि व सल्लम) पुण्यको कार्यमा सधैं अग्रसर हुनुहुन्थ्यो। विशेष गरी रमजान महिनामा जुन बेला जिब्रील (अलैहिस्सलाम) सित भेट्नु हुन्थ्यो। उहाँ जिब्रील (अलैहिस्सलाम) सित रमजानको प्रत्येक रात भेट्नु हुन्थ्यो र उहाँलाई कुरआन सुनाउनु हुन्थ्यो। जुन बेला जिब्रील (अलैहिस्सलाम) भेट्नु हुन्थ्यो त्यस बेला गतिशील हावा भन्दा पनि बढी पुण्य गर्न तल्लीन हुनुहुन्थ्यो।” (बुखारी : १८०३६, मुस्लिम : २३०८)
  • उहाँले भिक्षुलाई कहिल्यै पनि खाली हात फर्काउनु भएन । उहाँले एकजनालाई दुवै पर्वतको बीचमा रहेका सम्पूर्ण भेंडा-बाख्रा दान गर्नुभयो । त्यो व्यक्तिले आफ्नो समुदायमा गएर सबैलाई यसरी इस्लामको निमन्त्रणा दियो– हे मेरा साथीभाइहरू हो, इस्लाम ग्रहण गर, मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) एकदम ठूलो दानी हुनुहुन्छ । कहिल्यै समाप्त न हुने धन-सम्पत्ति दिनुहुन्छ ।” (मुस्लिम : २३१२)
  • बाहिर कतैबाट ८० हजार दिरहम (चाँदीको सिक्का) प्राप्त भयो । रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले त्यसलाई गुन्द्रीमा राखेर केही क्षणमै माग्नेहरूमा बाँडि दिनुभयो । कुनैपनि भिक्षुलाई खाली हात फर्काउनु भएन ।” (हाकिम : ५४२३)
  • एकजना आएर उहाँसित केही माग्यो। उहाँले भन्नु भयो- “मसँग त अहिले केही पनि छैन, तै पनि तिमी आफ्नो आवश्यक समान मेरो नाममा किन, म पछि चुक्ता गरुँला।” यो सुनेर उमर (रजियल्लाहु अन्हु) ले भन्नु भयो- “जुन कुरा तपाईंसँग छैन, त्यसलाई गर्नु पर्ने अल्लाहले आदेश दिनुभएको छैन।” तर उहाँलाई यो कुरा मन परेन र मगन्तेले भन्यो– “नडराइकन खुब खर्च गर्नुहोस्, सिंहासनमाथि रहेको अल्लाहले बढी दिनु हुनेछ।” यो सुनेर रसूल (सल्लल्लाहु अलैहि व सल्लम) मुसुक्क हाँस्नु भयो र उहाँको अनुहार खुशीले गदगद भयो। (अहादीस मुख्तारह : ८८)
  • हुनैन युद्ध (गज्वा हुनैन) बाट जब रसूल (सल्लल्लाहु अलैहि व सल्लम) फर्कनु भयो, त्यस बेला गाउँले र नयाँ मुस्लिमहरु आएर युद्धबाट बरामद धन-सम्पत्ति माग्न थाले। यथाशीघ्र उनीहरूको ठूलो भेला जम्मा भयो र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) एउटा रुखमा अडेस लिन बाध्य हुनु भयो र उहाँको खास्टो भुइँमा झर्यो। त्यसपछि रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भीडलाई सम्बोधन गर्दै भन्नु भयो– “मेरो खास्टो देऊ, यदि मसँग यी रुखहरू बराबर धन-सम्पत्ति भएको भए म त्यसलाई तिमीहरूमा नै बाँडीदिने थिएँ अनि तिमीहरूले मलाई कन्जुस, झूठो र कायर पाउने थिएनौ।” (बुखारी : २९७९)
  • यसरी रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले जीवनको सम्पूर्ण क्षेत्रहरूमा उच्च आचरण र स्वभावका उत्कृष्ट एवम् अतुलनीय उदाहरणहरू प्रस्तुत गर्नुभएको छ ।