इस्लाममा आचरणले जुन विशेषता र गुणहरू ओगटेको छ, त्यो अन्य धर्महरूमा बिरलै पाइन्छ, तीमध्ये केही यस प्रकार रहेका छन्-
१- आचरण कुनै विशेष व्यक्तिमा सीमित छैन-
अल्लाहले नै मानिसहरूलाई विभिन्न रुप, रङ्ग र अनगिन्ती भाषाहरू दिएर सृष्टि गर्नुभएको छ। अल्लाहको दृष्टिमा न कोही ठूलो छ, न कोही सानो नै, सबै समान छन्। जसको आस्था र स्वभाव उच्च कोटिको हुन्छ, ऊ नै अल्लाहको नजरमा महान र प्रतिष्ठित हुन्छ।
अल्लाहले भन्नुभएको छ– “हे मानव, हामीले तिमीहरूलाई एक पुरुष र एक स्त्रीबाट सृष्टि गर्यौ र तिमीहरूका विभिन्न जाति - बंश बनायौं, ताकि तिमीहरू एक अर्कालाई चिन्न सकौ। वास्तवमा अल्लाहको नजरमा सर्वाधिक प्रतिष्ठित व्यक्ति त्यो हो, जो तिमीहरूमध्ये सबैभन्दा धेरै ईश- भय राख्छ।” (कुरआन : ४९/१३)
आचरण नै मुसलिमको पहिचान हो। इस्लाममा धनी-गरीब, ठूलो सानो, गोरो-कालो र अरबी-गैरअरबी बीच कुनै भेदभाव, छुवाछुत र घृणा छैन।
गैर-मुस्लिमसितको व्यवहार-
अल्लाहले हामीहरूलाई मुस्लिम, गैर-मुस्लिम, परिचित, अपरिचित मानिस, जनावर तथा सम्पूर्ण प्राणीहरूसँग भद्र व्यवहार र परोपकार गर्ने आदेश दिनुभएको छ, किनभने मुसलिमको आचरणले नै गैर-मुस्लिमहरू इस्लामतिर लम्किरहेका छन्।
अल्लाहले भन्नुभएको छ– “जसले तिमीहरूसित धर्मको मामिलामा युद्ध गरेनन् र तिमीहरूलाई घरबाट निस्कासन गरेनन्, त्यस्ता व्यक्तिहरूसित भद्र व्यवहार र न्याय गर । अल्लाह न्याय गर्नेहरूलाई मन पराउनु हुन्छ।” (कुरआन : ६०/८)
अल्लाहले गैर-मुस्लिमको मित्रता, उनीहरूको कुफ्र र शिर्कको आस्थासित प्रेम गर्नुबाट मनाही गर्नुभएको छ।
अल्लाहले भन्नुभएको छ– “अल्लाहले त यस्ता व्यक्तिहरूसित मित्रता गर्न रोक्नु हुन्छ, जसले तिमीहरूसँग धर्मको लागि युद्ध गरे, तिमीहरूलाई तिमीहरूको घरदैलोबाट निस्कासन गरे र तिमीहरूको निष्कासन कार्यमा शत्रुको सहयोग गरे। तिनीहरूसित मित्रता गाँस्ने व्यक्तिहरू नै अत्याचारी हुन्।” (कुरआन : ६०/९)

एउटा मुस्लिम आफ्नो-बिरानो सबैसँग राम्रो व्यवहार गर्छ।
२- आचरण मानिससित मात्र सीमित छैन
जनावरसितको व्यवहार-
इस्लामले आचरणलाई मानिससित मात्र सीमित नराखी जनावरप्रति पनि देखाउन आदेश दिएको छ । रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले बिरालो मार्नेलाई नरकको चेतावनी र कुकुरसित असल व्यवहार गर्नेलाई स्वर्गको शुभ सुचना दिनुभएको थियो । रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छ– “एउटी महिलाले बिरालोप्रति गरेको नराम्रो व्यवहारले गर्दा नरकमा गइन् । ती महिलाले बिरालोलाई बाँधेर राखिन्, न त त्यसलाई खानेकुरा दिइन्, न त स्वतन्त्र गरिन् ।” (बुखारी : ३१४०, मुस्लिम : २६१९)
रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छ– “एउटा यात्रीलाई बाटोमा हिंडिरहेको बेला धेरै तिर्खा लाग्यो । उसले बल्ल एउटा कुवा भेटायो र तल झरेर आफ्नो तिर्खा मेटायो । बाहिर निस्कने बित्तिकै उसले तिर्खाले माटो खाइरहेको एउटा कुकुरलाई देख्यो र मनमा सोच्न थाल्यो– सायद, यो कुकुरलाई पनि मलाई जस्तै बेस्सरी तिर्खा लागेको होला । ऊ पुनः कुवामा झर्यो र छालाको मोजामा पानी भरी त्यसलाई मुखमा च्यापेर बल्ल तल्ल बाहिर ल्याएर कुकुरलाई पिलायो र अल्लाहको कृतज्ञता व्यक्त गर्यो र अल्लाहले उसका सम्पूर्ण पापहरूलाई पखालि दिनुभयो । सहाबीहरूले सोधे- के जनावरहरूप्रति गरिएको सद-व्यवहारमा पनि पुण्य पाइन्छ र ? उहाँले जवाफ दिनुभयो– “प्रत्येक प्राणीहरूप्रति असल। “व्यवहारमा पुण्य पाइन्छ।” (बुखारी : ५६६३, मुस्लिम : २२४४)
पर्यावरणलाई सुरक्षित राख्नमा आचरणको भूमिका-
इस्लामले हामीलाई भूमि निर्माण एवम् विकास कार्य गर्न, वृक्ष रोपण र सभ्यता निर्माण गर्न आदेश दिएको छ। तर सम्पूर्ण मानव, जनावर, वनस्पति, वातावरण तथा पर्यावरणलाई विनाश नगरिकन नै उक्त विकासका कार्य गर्नुपर्दछ, किनभने अल्लाहले आतंक मच्चाउनु वा वातावरणलाई विनाश गर्नुलाई कदापि मन पराउनु हुन्न। अल्लाहले भन्नुभएको छ– “अल्लाह दंगा-फसाद र आतंकलाई कदापि मन पराउनु हुन्न।” (कुरआन : २/२०५)
यहाँसम्म कि रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले कठिन परिस्थितिमा पनि भूमि निर्माणमा सक्रिय रहने आदेश दिनुभएको छ- “बोट बिरुवा तथा बीऊ रोपण गर्दा- गर्दै कयामत (महाप्रलय) भयो भने पनि सकेसम्म वृक्ष रोपण गर्नुपर्दछ, ताकि यो उसको लागि पुण्य साबित होस् ।” ( अहमद : १२९८१)

इस्लामले वातावरणलाई सुरक्षित राख्ने प्रेरणा दिन्छ।
३- जीवनका सम्पूर्ण क्षेत्रहरूमा आचरण-
घरपरिवार-
इस्लामले परिवारका सम्पूर्ण सदस्यहरूसँग भद्र व्यवहार गर्न प्रेरणा दिएको छ । रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भयो – “तिमीहरूमध्ये प्रतिष्ठित व्यक्ति ऊ हो, जो आफ्नो घरपरिवारसँग भद्र व्यवहार गर्दछ र म पनि आफ्नो घरपरिवारसित भद्र व्यवहार गर्दछु ।” (तिर्मिजी : ३८९५)
- रसूल (सल्लल्लाहु अलैहि व सल्लम) संसारकै सर्वश्रेष्ठ व्यक्ति हुन्, तथापि उहाँ आफ्नो परिवारलाई घरेलु कामहरूमा सघाउनु हुन्थ्यो । उहाँकी श्रीमती आईशा (रजियल्लाहु अन्हा) ले बयान गर्नुभएको छ– "उहाँ घरेलु काम-काजमा आफ्नो परिवारलाई सघाउनु हुन्थ्यो ।" (बुखारी : ५०४८)
- उहाँ आफ्नो परिवारसँग ख्याल ठट्टा पनि गर्नु हुन्थ्यो | आईशा (रजियल्लाहु अन्हा) ले भन्नुभएको छ– “एउटा यात्रामा म उहाँको साथमा थिएँ, त्यतिबेला मेरो शरीर दुब्लो र पातलो थियो। उहाँले आफ्ना साथीहरूलाई “तिमीहरू अघि बढ्दै जाऊ, भन्नु भयो र उनीहरू अगाडि बढ्दै रहे। त्यसपछि मलाई भन्नु भयो– “आऊ, हामी दौडमा प्रतिस्पर्धा गरौं र दौड्दा-दौड्दै म नै विजेता भएँ। धेरै दिनपछि फेरि एक पटक उहाँको साथमा यात्रामा निस्कने मौका पाएँ। त्यतिबेला म अलि मोटी भएकी थिएँ। फेरि पनि उहाँले दौडमा प्रतिस्पर्धा गर्ने कुरा गर्नुभयो र हामी दौड्यौं तर याँत पनि म हारें। उहाँले हाँस्दै भन्नु भयो- मन सानो नगर, यो त्यसको बदला हो। तब मलाई प्रथम दौडको सम्झना भयो।” (अहमद : २६२७७)

व्यापार-
कहिले काही उद्योगपति र व्यापारीहरू धन-सम्पत्तिको लोभमा अवैध र अनैतिक काम पनि गर्छन्। त्यसलाई रोक्नको लागि इस्लामले आचरणका केही सिद्धान्तहरू लागू गरेको छ-
- इस्लामले नाप-तौलमा कमी गर्नु वा धोका दिनु अवैध गरेको छ। अल्लाहले भन्नुभएको छ– “नाप-तौलमा घटाएर दिनेहरू सर्वनाश होऊन, मानिसहरूबाट लिदा पूरा-पूरा लिन्छन्, तर उनीहरूलाई तौलेर दिदा कम दिन्छन्।” (कुरआन : ८३/१-३)
- किनबेचमा क्रेता र बिक्रेता दुवैलाई सहनशीलता र नम्रता अपनाउन उत्साहित गरिएको छ । रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छ– “जुन व्यक्तिले किनबेच वा पैसा लेन-देन गर्ने क्रममा नम्रता र सहनशीलता अपनाउँछ, अल्लाहले उसलाई माया गर्नुहुन्छ।” (बुखारी : १९७०)
व्यवसाय-
इस्लामले उद्योगपति तथा व्यवसायीहरूलाई व्यवहारिक र गुणस्तर कामको प्रेरणा दिन्छ, जस्तै-
- कुशलतापूर्वक र गुणस्तर वस्तु उत्पादित गर्नु, रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छ– “कुशलतापूर्वक गरिएको कामलाई अल्लाहले धेरै मन पराउनु हुन्छ।” (अबु-याला : ४३८६, बैहिकी फि शुओबिल-ईमान : ५३१३)
- ग्राहकहरूसँग गरेको वाचा अनुसार काम पूरा गर्नु, रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छ– “छलकपटीका तीन पहिचानहरू छन्; तीमध्ये एउटा - वाचा पूरा नगर्नु हो ।” (बुखारी : ३३)

४- आचरण सम्पूर्ण अवस्थाहरूमा-
इस्लामले कठिन परिस्थितिमा पनि आचरण र उच्च व्यवहारसँग सम्झौता नगरी त्यसैमा अडिग रहन आदेश दिएको छ । यहाँसम्म कि युद्धको मैदान र द्वन्द्वको बेलामा पनि आचरणलाई नै प्राथमिकता दिन आदेश दिएको छ, किनकि कुनै पनि उद्देश्य वा स्वार्थको लागि अवैध साधन कदापि प्रयोग गर्नु हुँदैन ।
त्यसैले इस्लामले आचरणका यस्ता नियम र सिद्धान्तहरू पारित गरेको छ, जसले मुस्लिमहरूको क्रियाकलापलाई युद्धको बेलामा पनि अनुशासित गरेको छ। मानिसको रिस, घृणा, डाह, कठोरता र मनमानी गर्ने कुनै ठाउँ नै छैन।
युद्ध सम्बन्धी इस्लामको आचरण-
१- शत्रुसँग न्याय-निसाफ गर्न र अत्याचार नगर्न आदेश- अल्लाहले भन्नु भएको छ… “कुनै समुदायको शत्रुताले कसैमाथि अन्याय होइन निसाफ गर, यो नै इश-भय हो।” (श्रोत- सूरह अल्-माइदा : ५/८) शत्रुताको क्रोधमा मातेर कुनै समुदायमाथि कदापि अन्याय गर्नु हुँदैन, बरु कठिन परिस्थितिमा पनि आफ्नो र बिरानो सबैसँग न्यायपूर्वक व्यवहार गर्नु पर्दछ।
२- शत्रुसँग धोका र विश्वासघात नगर्न आदेश- किनभने अल्लाहले शत्रुसँग पनि विश्वासघात र धोकालाई अवैध गर्नु भएको छ। अल्लाहले भन्नु भएको छ… “निश्चय नै अल्लाहले विश्वासघातीहरुलाई कदापि मन पराउनु हुन्न।” (श्रोत- सूरह अल्-अन्फाल : ८/५८)
३- लाशलाई अङ्गभङ्ग र विरूप नगर्न आदेश- इस्लामले लाशलाई अङ्गभङ्ग र विरूप नगर्न आदेश दिएको छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नु भएको छ… “लाशलाई छिन्न-भिन्न र विरूप नगर।” (श्रोत- मुस्लिम : १७३१)
४- युद्धमा सरोकार नराख्ने सर्वसाधारण व्यक्तिलाई हत्या र पर्यावरणलाई बर्बाद नगर्न आदेश- मुस्लिमहरुको खलीफा (उत्तराधिकारी) र सर्वप्रतिष्ठित सहाबी अबु-बकर सिद्दीक (रजियल्लाहु अन्हु) ले जैद पुत्र ओसामालाई युद्धको लागि सिरियातर्फ पठाउदा, यसरी उपदेश दिनु भयो… “बाल-बालिका, वृद्ध-वृद्धा तथा महिलाहरुलाई कदापि हत्या नगर्नु, खजुर तथा फलदार वृक्षलाई कदापि बर्बाद नगर्नु, भेंडाबाख्रा, गाई तथा ऊँटलाई बदलाको भावनाले नमार्नु। अँ, खानको लागि जबह गर्न सकिन्छ। गिर्जा, गुम्बा र त्यसमा उपासनाको लागि समर्पित भएका व्यक्तिहरुलाई केही हानि नपुर्याउनु।” (श्रोत- इब्ने-असाकिर : २/५०)