आह्वानको महत्व-
इस्लामतिर आह्वान गर्नु उत्कृष्ट सत्कर्म हो । कुरआन र हदीसका पृष्ठहरू यसको महत्वले ओतप्रोत छन्, तीमध्ये केही यस प्रकार रहेका छन्-
१
इस्लामतिर आह्वान गर्नु लोक-परलोक दुवै जीवनको सफलताको बाटो हो। अल्लाहले भन्नुभएको छ– “तिमीहरूमध्ये एउटा यस्तो समूह हुनुपर्छ, जसले इस्लामतिर आह्वान गरुन्, सत्कर्मको आदेश र कुकर्मबाट मनाही गरुन्। याद राख, यिनीहरू नै सफल हुनेछन्।” (कुरआन : ३/१०४)
२
मार्गदर्शकको कुरा सबैभन्दा उत्तम र प्रिय छ। अल्लाहले भन्नुभएको छ– “त्यस व्यक्तिको कुरा भन्दा उत्तम कुरा अरु कसको हुन सक्छ, जसले अल्लाहको मार्गतिर आह्वान गर्छ, सत्कर्म गर्छ र भन्छ– “म मुस्लिम (अल्लाहको आज्ञाकारी भक्त) हुँ ।” (कुरआन ४१/३३)
त्यसैले सिङ्गो संसारमै मार्गदर्शकको कुरा भन्दा उत्तम कुरा अरु कसैको हुनै सक्दैन, किनकि उसले मानिसलाई मानिसको गुलामीबाट मुक्ति प्रदान गर्दछ र असल मालिकको दरबारमा ल्याउने प्रयास गर्दछ। शिर्क र कुफ्रको अँध्यारोबाट निकालेर ईमान र तौहीदको उज्यालोमा ल्याउने सीधा मार्गदर्शन गर्दछ।
३
इस्लामतिर आह्वान गर्नु उहाँको आदेशको अनुसरण हो। अल्लाहले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई सम्बोधन गर्दै भन्नुभएको छ– “हे सन्देष्टा, अल्लाहको मार्गतिर बुद्धि र प्रभावकारी उपदेशद्वारा आह्वान गर र उनीहरूसँग राम्रो तरिकाले तर्क वितर्क गर।” (कुरआन : १६ / १२५)
मार्गदर्शकले बुद्धि र प्रभावकारी उपदेशद्वारा इस्लामतिर आह्वान र उनीहरूसँग तर्क वितर्क गर्नुपर्दछ । उनीहरूको स्थितिको जानकारी, कुन कुरा उनीहरूका लागि उचित छ/छैन ध्यान दिनु पर्दछ र सुमधुरताका साथ सम्झाउनु पर्छ ।
४
यो समस्त सन्देष्टाहरूको कर्तव्य थियो र उनीहरूका सरदार मुहम्मद (सल्लल्लाहु अलैहि व सल्लम) हुनुहुन्छ । अल्लाहले उहाँलाई सिङ्गो संसारमाथि गवाह, आस्थावानलाई स्वर्गको शुभ सूचना दिन, काफिर (अवज्ञाकारी) हरूलाई नरकको आगोबाट सचेत गर्न र अल्लाहको मार्गतिर आह्वान गर्न प्रकाशमान दीप बनाएर पठाउनु भएको थियो ।
अल्लाहले भन्नुभएको छ– “हे सन्देष्टा, हामीले तिमीलाई समस्त संसार बासीका लागि गवाह, आस्थावानलाई स्वर्गको शुभ सूचना दिन, गैर - मुस्लिम तथा काफिर (अवज्ञाकारी) हरूलाई नरकको आगोबाट सचेत गर्न र अल्लाहको मार्गतिर आह्वान गर्न प्रकाशमान दीप बनाएर पठाएका छौं। आस्थावानहरूलाई अल्लाहको तर्फबाट ठूलो वरदानको शुभ सूचना देऊ।” (कुरआन : ३३ / ४५-४७)
५
यो कहिल्यै समाप्त नहुने पुण्यको सागर हो। जो कोही तपाईंको आह्वानले इस्लाम ग्रहण गर्छ भने तपाईंको लागि उसको जतिकै सलाह, उपासना र अन्य कर्मको पुण्य हुनेछ।
रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छ– “जसले इस्लामको निमन्त्रणा दिन्छ, उसलाई पनि इस्लाममा आउने व्यक्ति जति नै पुण्य प्राप्त हुनेछ, तर कसैको पुण्यमा केही कमी हुने छैन।” (मुस्लिम : २६७४)
६
मार्गदर्शकको पुण्य अल्लाहले स्वयम् दिनु हुनेछ। अल्लाहले आफ्नो कृपाले कति दिनु हुन्छ यसलाई कोही पनि अनुमान गर्न सकदैन। अल्लाहले सन्देष्टाहरूको भनाईलाई उध्रित गर्दै भन्नुभएको छ– “यदि तिमीहरू विमुख हुन्छौ भने मैले तिमीहरूसित प्रतिदान मागेको छैन। मेरो प्रतिदान अल्लाहकहाँ रहेको छ र मलाई मुस्लिम (आज्ञाकारी) बन्ने आदेश दिएको छ।” (कुरआन : १०/११२)
रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छ– “यदि तिम्रो प्रयासले एउटा मानिसलाई पनि सीधा मार्ग प्राप्त भयो भने यो तिम्रो लागि रातो (महँगो) ऊँट भन्दा उत्तम छ।” (बुखारी : २८७४, मुस्लिम : २४०६)
प्रभावकारी आह्वानका गुणहरु-
अल्लाहले प्रभावकारी आह्वानका केही शर्तहरू बयान गर्नुभएको छ, तीमध्ये केही निम्नलिखित छन्–
१
विवेक र परिज्ञान-
मार्गदर्शकले जुन कुरातिर आह्वान गरिरहेको छ त्यसको बारेमा पूर्ण ज्ञान हुनुपर्छ र कोसँग कस्तो व्यवहार गर्नुपर्छ भन्नेको ज्ञान हुनुपर्छ। अल्लाहले भन्नुभएको छ– “भनिदेऊ, मेरो मार्ग यही हो। म र मेरा अनुयायीहरू पूर्ण ज्ञान र चेतनशीलताका साथ अल्लाहतर्फ आह्वान गर्दछौं।” (कुरआन : १२/१०८) अल्लाहले रसूल (सल्लल्लाहु अलैहि व सल्लम) लाई सम्बोधन गरेर हामीलाई पाठ सिकाउनु भएको छ कि पूर्ण ज्ञान र चेतनशीलताका साथ नै इस्लामतिर आह्वान गर्नुपर्छ।
ज्ञानको अर्थ यो पनि होइन कि सिङ्गो इस्लाम नसिकुन्जेल इस्लामतिर आह्वान गर्नु हुँदैन। बरु तपाईंसँग जति ज्ञान छ, यहाँसम्म कि कुरआनको एक आयतको पनि ज्ञान छ भने त्यसतिर आह्वान गर्नुपर्छ।
रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छ– “इस्लामको प्रचार-प्रसार गर, चाहे इस्लामको एउटा मात्र कुरा किन नहोस्।” (बुखारी : ३२७४)
यसरी सहाबीहरू इस्लाम ल्याउने गर्थे अनि थोरै दिनमा इस्लामका आधारभूत कुराहरू सिकेर आफ्नो समुदायमा फर्केर मानिसहरूलाई इस्लामतिर आह्वान गर्थे र इस्लाम आत्मसात गर्न प्रेरित गर्दथे। उनीहरूको आचरण र मिठो बोलीले मानिसहरू प्रभावित भएर खुरुखुरु इस्लामलाई आत्मसात गर्थे।z

२
बुद्धि र प्रभावकारी उपदेश-
अल्लाहले भन्नुभएको छ– “हे सन्देष्टा, अल्लाहको मार्गतिर बुद्धि र प्रभावकारी उपदेशद्वारा आह्वान गर र उनीहरूसँग राम्रो तरिकाले तर्क वितर्क गर।” (कुरआन : १६ / १२५) अर्थात बुद्धि पुर्याएर स्थिति र स्थान अनुसार इस्लामतिर आह्वान गर्नुपर्दछ।
मानिसहरूको बिचार, सोच्ने र बुझ्ने शक्ति अलग-अलग हुन्छ। मार्गदर्शकले मौका अनुसार उपयुक्त साधन अपनाउनु पर्छ र समयको सदुपयोग उसको लागि अत्यन्तै प्रभावकारी हुन्छ।
निमन्त्रित व्यक्तिहरूलाई प्रभावकारी उपदेश दिनुका साथ नम्र व्यवहार, शान्त वातावरणमा तर्क वितर्क, उनीहरूको चित्त नदुखाइकन र रिसलाई उत्तेजित नगरिकन इस्लामतिर आह्वान गर्नुपर्छ। अल्लाहको यसै वरदानले गर्दा रसूल (सल्लल्लाहु अलैहि व सल्लम) मानिसहरूका साथ अत्यन्त विनम्र हुनुहुन्थ्यो। यदि कठोर र निर्दयी भएको भए मानिसहरू उहाँदेखि टाढा हुन्थे।
अल्लाहले भन्नुभएको छ– “हे मुहम्मद, तिमीले अल्लाहको अपार कृपाले नै उनीहरूप्रति उदार गरेका छौ। यदि तिमी क्रुर एवम् कठोर हृदयी भएको भए यिनीहरू तिम्रो वरिपरिबाट तितर-बितर हुने थिए।” (कुरआन : ३ / ९५९)

घरपरिवारलाई आह्वान-
अल्लाहले जसलाई इस्लाममा प्रवेश गर्न सुवर्ण अवसर प्रदान गर्नुभएको छ, उसले आफ्नो घरपरिवार तथा नातेदारहरूलाई इस्लामतिर आह्वान गर्नुपर्छ, किनभने उनीहरू उसका नजिक र प्यारा व्यक्तिहरू हुन्। आह्वानको क्रममा उनीहरूबाट पाएको कष्टमाथि धैर्य गर्दै चाहिने सबै साधनहरूलाई समय र स्थान अनुसार बुद्धि पुर्याएर प्रयोग गर्नुपर्छ। अल्लाहले भन्नुभएको छ- “आफ्नो घरपरिवारलाई सलाहको आदेश देऊ र त्यसमा अडिग होऊ।” (कुरआन : २०/१३२)
कतिपय मार्गदर्शकहरूको आह्वानले आफन्तहरू इस्लाम स्वीकार गर्दैनन्, तर टाढाका व्यक्तिहरू स्वीकार गर्छन् जसले गर्दा ऊ निराश हुन्छ, तर प्रभावकारी मार्गदर्शक त्यो हो, जुन सम्पूर्ण सामग्रीहरूलाई प्रयोगमा ल्याएर नयाँ-नयाँ तरिका अपनाएर उनीहरूको पथप्रदर्शनको लागि प्रयासरत हुन्छ, उनीहरूको मार्गदर्शनको लागि अल्लाहसित प्रार्थना गर्छ र कठिन भन्दा कठिन परिस्थितिमा पनि हरेस खाँदैन ।
जसरी रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले आफ्नो काका अबु तालिबलाई इस्लामतिर आह्वान गर्दा हरेस खानु भएन । जसले उहाँको मद्दत गर्नु हुन्थ्यो र कुरेशको सामु हरेक जटिल परिस्थितिमा सघाउनु हुन्थ्यो, तर इस्लाम ल्याउनु भएन। के रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले हार मान्नु भयो? किन हार मान्नु? उहाँ काकाको जीवनको अन्तिम क्षणसम्म प्रयासरत रहनु भयो। उहाँले भन्नु भयो– “ए काका, एक चोटि (ला इलाहा इलल्लाह) भनि दिनुस् म तपाईंको लागि यसलाई प्रमाण बनाउँछु।” (बुखारी : ३६७१, मुस्लिम : २४) तर उहाँले भतिजाको आह्वानलाई स्वीकार गर्नु भएन र कुफ्रको अवस्थामा नै मर्नु भयो।
त्यसपछि अल्लाहले यो श्लोक अवतरण गर्नुभयो– “हे मुहम्मद, तिमीले जसलाई माया गर्छौ त्यसलाई सत्य मार्गमा डोर्याउन सक्दैनौ । तर अल्लाहले जसलाई चाहनुहुन्छ, सत्य मार्गमा डोर्याउनु हुन्छ । उहाँ सत्य मार्ग ग्रहण गर्नेहरूलाई राम्ररी चिन्नु हुन्छ।” (कुरआन : २८/५६)

मार्गदर्शकले इस्लामको आह्वानमा बुद्धि पुर्याएर सकेसम्म प्रयास गर्नुपर्छ। तर हृदयको ताल्चा अल्लाहको हातमा छ, जसलाई चाहनुहुन्छ, सत्य मार्गमा डोर्याउनु हुन्छ।
