तौबा (प्रायश्चित)

तौबा (प्रायश्चित)


तौबाको अर्थ– अल्लाहतिर फर्केर आउनुलाई तौबा (प्रायश्चित) भनिन्छ । जसले पनि आफ्नो पाप र कुफ्रको लंकालाई छोडेर साँचो मनले अल्लाहतिर फर्केर आँउछ उसले तौबा गर्यो भन्ने बुझिन्छ ।

एउटा मानिसलाई जीवनको पाईला पाईलामा तौबा र माफीको आवश्यकता पर्दछ, किनभने मानिसबाट गल्ती हुन्छ, जहिले पनि गल्ती भयो भने अल्लाहसित माफी माग्नु र तौबा गर्नुपर्छ ।


प्रभावकारी तौबाका शर्तहरू-


शिर्क, कुफ्र र अन्य पापहरूबाट तौबा (प्रायश्चित) गर्न केही शर्तहरू आवश्यक छन्, ती यस प्रकार रहेका छन्-

पापलाई पूर्ण रुपमा छोड्नु-

लगातार पाप गरिरहनुले तौबा मान्य हुँदैन । त्यसैले समस्त पापलाई पूर्ण रुपमा छोड्नु पर्दछ । यदि अन्जानमा फेरि केही गल्ती वा पाप गरियो भने पहिलेको तौबा भङ्ग हुँदैन तर तौबाको नवीकरण गर्नुपर्दछ ।

पुरानो पापमाथि पछुतो गर्नु-

तौबाको कल्पना त्यो व्यक्तिसित मात्र गर्न सकिन्छ, जसलाई आफूले गरेको पापमाथि पछुतो हुन्छ, तर जो कोही अरुसित आफ्नो पापको बखान गर्दै हिंड्छ वास्तवमा उसले पछुतो गरेको छैन । रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छ– “पछुतो गर्नु र लज्जित हुनु तौबा हो ।” (इब्ने माजा : ४२५२)

आइन्दा नगर्ने दृढ संकल्प गर्नु-

तौबापछि पनि पापको दुनियाँमा फर्कने नीयत छ भने तौबा स्वीकृत हुँदैन ।


दृढ संकल्पलाई साकार पार्ने पाइलाहरू-


  • जस्तो सुकै परिस्थिति र बाध्यता भए पनि पापको दुनियाँमा कहिल्यै पनि फर्किन्न दृढ संकल्प लिनु पर्छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छ– “जो व्यक्तिमा यी तीनवटा गुणहरू पाइन्छन् भने त्यसले ईमानको मिठास पायो; त्यसमध्ये एउटा व्यक्ति त्यो हो जो फेरि कुफ्र (पुरानो धर्म) मा फर्कन त्यसरी घृणा गर्छ जसरी आगोमा होमिनु ।” (बुखारी : २१, मुस्लिम : ४३)
  • पापको अवसर दिने र ईमानलाई कमजोर पार्ने व्यक्ति र ठाउँदेखि टाढा बस्नु पर्दछ ।
  • इस्लाममाथि मृत्युसम्म कायम रहन अल्लाहसित बढी दुआ गर्नुपर्छ, चाहे जुनसुकै भाषामा किन नहोस् । तीमध्ये कुरआन र हदीसका केही दुआहरू यस प्रकार रहेका छन्-
    • ( रब्बना ला तुजिग् कुलूबना बा'द इज् हदैतना) अर्थ : “हे अल्लाह ! सत्य मार्ग देखाएपछि कुबाटोतिर नमोड ।” (कुरआन : ३/८)
    • (या मुकल्लिबल् कुलूब ! सब्बित कल्बी अला दीनक्) अर्थ : “हे हृदयलाई फेर्नेवाला ! मेरो मनलाई आफ्नो धर्ममाथि स्थिर गरि देऊ ।” (तिर्मिजी : २१४०)


तौबापछि के गर्नुपर्छ ?


जुन बेला मानिसले स्वच्छ मनले तौबा गर्छ, अल्लाहले उसका सम्पूर्ण पापहरूलाई पखालिदिनुहुन्छ, चाहे त्यो जतिसुकै ठूलो पाप किन नहोस्, किनकि उहाँको करुणा र दयाले हरेक वस्तुलाई घेरेको छ। अल्लाहले भन्नुभएको छ– “हे मेरा भक्तहरू! जसले आफूमाथि अन्याय गरेको छ अल्लाहको कृपादेखि निराश नहोऊ, निश्चय नै अल्लाहले सम्पूर्ण पापहरूलाई क्षमा गरि दिनु हुनेछ। उहाँ अत्यन्त क्षमाशील तथा करुणामय हुनुहुन्छ।” (कुरआन : ३९/५३)

साँचो तौबापछि एउटा मुस्लिम यसरी पापमुक्त हुन्छ, मानौं उसले कुनै पाप गरेको थिएन। बरु अल्लाहले उनीहरूमाथि एउटा अर्को उपकार गर्नुहुन्छ; त्यो के हो भने यिनीहरूका समस्त पापहरूलाई पुण्यमा परिणत गरिदिनुहुन्छ।

अल्लाहले भन्नुभएको छ– “तर जसले प्रायश्चित गर्यो, ईमान ल्यायो र सत्कर्म गर्यो भने अल्लाहले उनीहरूका पापलाई पुण्यमा परिणत गरिदिनुहुन्छ। निश्चय नै उहाँ अत्यन्त क्षमाशील एवम् परम दयालु हुनुहुन्छ।” (कुरआन : २५ / ७०)

जसले यस्तो सुवर्ण अवसर पाएको छ, उसले आफ्नो तौबालाई जसरी भएपनि शैतानको जालबाट सुरक्षित राख्न सचेत हुनुपर्दछ, चाहे त्यसको लागि जतिसुकै ठूलो मूल्य चुकाउनु परोस्।


ईमानको मिठास-


जसरी आगोमा होमिनुलाई घृणा गर्छ, त्यसरी नै कुफ्रको दुनियाँमा फर्किनुलाई घृणा गर्छ भने ईमानको मिठास प्राप्त हुन्छ।

जसको मनमा अल्लाह र रसूल (सल्लल्लाहु अलैहि व सल्लम) को जति माया र आदर हुन्छ, उसले त्यत्ति नै अल्लाहका सच्चा भक्तहरूलाई माया र आदर गर्दछ। जसरी आगोमा होमिनुलाई घृणा गर्छ, त्यसरी कुफ्र शिर्क र पापको दुनियाँमा फर्कनुलाई घृणा गर्छ भने उसले ईमानको मिठास प्राप्त गर्यो । उसले आफूलाई अल्लाहदेखि नजिक पाउनेछ। अल्लाहको आदेश र पथप्रदर्शनको वरदानबाट मन सन्तुष्ट र आनन्दित हुनेछ ।

रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छ– “जो व्यक्तिमा यी तीनवटा गुणहरू पाइन्छन् भने त्यसले ईमानको मिठास पायो । अल्लाह र उहाँको रसूलसित सबैभन्दा बढी माया गर्छ, अल्लाहकै लागि कसैसित माया गर्छ र कुफ्रबाट निस्केपछि फेरि त्यसमा जानु आगोमा होमिनु जस्तै घृणा गर्छ ।” (बुखारी : २१, मुस्लिम : ४३)