
इस्लामले कुनै विशेष पोशाक तोकेको छैन, तर आफ्नो देशबासीको पोशाक यदि इस्लाम विपरीत छैन भने त्यस्तै पोशाक लगाउनु उत्तम हो।
इस्लाम प्राकृतिक धर्म हो। त्यसैले मानिसको व्यवहारिक जीवनमा ती नियमहरु मात्र लागू गरेको छ, जुन स्वच्छ प्राकृतिक नियम, सरल बुद्धि र साधारण विवेकसित पूर्णरुपले मेल खान्छ।
पोशाक र सृङ्गारको असल आधार वैध हो-
इस्लामले मुस्लिमहरूका लागि कुनै खास किसिमको पोशाकलाई अनिवार्य गरेको छैन। जुनसुकै पोशाकले उद्देश्यलाई पूरा गर्छ र इस्लामी मान-मर्यादा विपरीत छैन भने त्यो नै मुस्लिमको पोशाक हो।
रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले आफ्नो युगमा रहेका पोशाकहरू लगाउनु भयो र उहाँले न त कुनै खास पोशाक लगाउन आदेश दिनुभयो, न कुनै पोशकबाट मनाही गर्नुभयो, बरु पोशाकमा पाइने नराम्रा कुराहरूबाट रोक्नुभयो। किनभने व्यवहारमा असल कुरा जायज छ र पोशाक पनि त्यसैमध्ये पर्छ जसलाई बिना प्रमाण अवैध भन्नु मिल्दैन। तर यसको विपरीत ईबादतमा असल कुरा अवैध हो, प्रमाणित नहुन्जेल कुनै पनि उपासना गर्नु हुँदैन।
रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छ– “खाऊ, दान देऊ तथा राम्रो वस्त्र धारण गर तर त्यसमा घमण्ड र अनावश्यक खर्च नगर।” (निसाई : २५५९)
अवैध पोशाकहरु-
१
पारदर्शी पोशाक, मुस्लिमले आफ्ना अङ्गहरूलाई लुगाले छोप्नु अनिवार्य छ । अल्लाहले भन्नुभएको छ– “हे आदमका सन्तान हो ! हामीले तिमीहरूका लागि पोशाक अवतरण गरेका छौं । जसले तिमीहरू आफ्ना अङ्गहरूलाई छोप्दछौ ।” (कुरआन : ७/२६)
पर्दाको सिमा– पुरुष र महिलाले आ-आफ्ना अङ्गहरूलाई कतिसम्म छोप्नु पर्दछ भन्ने कुरालाई इस्लामले निर्धारित गरेको छ ।
पुरुषले नाँइटोदेखि घुँडासम्म र महिलाले महराम बाहेकका पुरुषहरूको अगाडि अनुहार र हात बाहेक सम्पूर्ण शरीरलाई छोप्नु पर्छ।
त्यसैले छोटो, कसिलो, निकै पातलो तथा अङ्गहरू देखिने पारदर्शी लुगाफाटा र पोशाकहरू कदापि लगाउनु हुँदैन। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले अङ्ग देखिने पारदर्शी कपडा लगाउनेहरूलाई नरकको धम्की दिनुभएको छ– “दुई प्रकारका मानिसहरू नरकमा जान्छन्; त्यसमध्ये एउटा, कपडा लगाए पनि नाङ्गै देखिने महिलाहरू हुन्।” (मुस्लिम: २१२८)
२
विपरीत लिङ्गीसँग मिल्दा-जुल्दा पोशाकहरु महिलाको लागि निर्धारित लुगाफाटा पुरुषले र पुरुषको लागि निर्धारित लुगाफाटालाई महिलाले प्रयोग गर्नु अवैध र महापाप हो।
त्यसैगरी पुरुषले महिलाको वा महिलाले पुरुषको बोलाई, हिँडाई र अन्य गतिविधिहरूलाई नक्कल गर्नु कदापि हुँदैन, किनभने रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले “यस्तो पुरुष र महिलालाई धिक्कार्नु भएको छ ।” (अबु-दाऊद : ४०९८) त्यसैगरी रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले “एक अर्काको नक्कल गर्ने पुरुष र महिलालाई धिक्कार्नु भएको छ ।” (बुखारी : ५५४६)
धिक्कारको अर्थ : अल्लाहको कृपाबाट पर हुनु हो, किनकि इस्लामले हरेकलाई एउटा छुट्टै पहिचान दिएको छ र हरेकले आफ्नै परिधिभित्र बस्नु नै प्रकृति र स्वच्छ बिचार अनुकूल पनि हो।
३
काफिरसित मिल्दा-जुल्दा पोशाकहरू, जस्तै- पूजारी, सन्यासी, पुरोहित, पादरीहरूका विशेष वस्त्र धारण गर्नु वा कुनै विशेष धार्मिक अर्थ बोकेका चिन्हहरू लगाउनु, जस्तै– घाँटीमा क्रुस वा जनै झुण्ड्याउनु वा टाउकोमा टुप्पी पाल्नु निषेध गरिएको छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छ– “जसले जुन समुदायको नक्कल वा अनुसरण गर्छ, ऊ तिनीहरूमध्ये हुन्छ।” (अबु-दाऊद : ४०३१)
अनुसरणको तात्पर्य- धार्मिक विशेष गतिविधिहरूको अनुसरण गर्नु हो। किनभने यसले आत्मविश्वास र आस्था दुवैलाई ठूलो असर पार्दछ।
यदि मुस्लिमले मुलुकमा प्रचलित त्यही पहिरन लगाउँछ जसलाई अधिकांश गैर-मुस्लिमहरूले पनि लगाउँछ भने यो अनुसरण अन्तर्गत पर्दैन, किनभने रसूल (सल्लल्लाहु अलैहि व सल्लम) पनि आफ्नो युगमा त्यही कपडा लगाउनु हुन्थ्यो, जुन मुशरिक र काफिरहरू लगाउने गर्दथे, त्यसैले निषेधित पहिरन बाहेक जुनसुकै लुगा लगाउन सकिन्छ ।

काफिरले लगाउने विशेष वस्त्र धारण गर्नु वा धार्मिक अर्थ ओगटेका चिन्हहरु लगाउनु मुस्लिमको लागि अवैध हो।
४
घमण्ड र अहमले ओतप्रोत पोशाकहरू, रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छ– “जसको मनमा कण बराबर पनि अहम छ भने ऊ स्वर्गमा जान सक्दैन ।” (मुस्लिम : ९१)
त्यसैले इस्लामले कपडा भुँइमा लतारेर हिंड्नु वा पुरुषले गोलीगाँठो भन्दा मुनि लगाउनु निषेध गरेको छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छ– “अल्लाहले भुँइमा कपडालाई लतारेर हिंड्ने घमण्डी व्यक्तिलाई महाप्रलयको दिन कदापि हेर्नुहुन्न ।” (बुखारी : ३४६५, मुस्लिम : २०८५)
प्रतिष्ठाको पोशाक लगाउन मनाही गरिएको छ, प्रसिद्ध हुने मनसायले अनौठो आकार र रङ्गले तयार पारिएको पोशाक लगाउनु वैध छ, किनभने यसमा पनि अहम र घमण्ड हुन्छ । रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छ– “जसले यो दुनियाँमा प्रसिद्ध हुने खालको कपडा लगायो, अल्लाहले उसलाई कयामतको दिन अपमान गर्ने कपड़ा लगाई दिनु हुनेछ ।” (अहमद : ५६६४, इब्ने माजा : ३६०७)

५
पुरुषको लागि शुद्ध रेशम वा सुनको पोशाक, इस्लामले पुरुषहरूका लागि रेशम र सुनलाई निषेध गरेको छ। रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छ– “सुन र रेशम पुरुषहरूका लागि अवैध छ, तर महिलाहरूका लागि वैध छ।” (इब्ने माजा : ३५९५, अबु-दाऊद : ४०५७)
रेशमको अभिप्राय- रेशमको कीराद्वारा तयार पारिएको शुद्ध रेशमले बनेका कपडा पुरुषको लागि अवैध गरिएको हो।
६
अनावश्यक र फजुलखर्च गरिएको पोशाक, रसूल (सल्लल्लाहु अलैहि व सल्लम) ले भन्नुभएको छ– “खाऊ, दान देऊ तथा राम्रो वस्त्र धारण गर तर त्यसमा घमण्ड र अनावश्यक खर्च नगर ।” (निसाई : २५५९)
यो मानिसको आर्थिक स्थिति र जिम्मेवारीमा भर पर्दछ, जस्तै- धनीले लगाउने महँगो कपडा गरीबले लगायो भने फजुलखर्च हुन्छ, किनकि दुवैको आयश्रोत र जिम्मेवारीमा आकाश पातालको फरक हुन्छ । अत: एउटै लुगा धनीको हकमा पुण्य छ भने त्यही लुगा गरीबको हकमा पाप हुन सक्छ ।

लुगाफाटामा अनावश्यक खर्च गर्नु अवैध हो तर यो मानिसको आर्थिक बचत र जिम्मेवारीमा भर पर्दछ ।